Menu

आजको मौसम

क्यान्सर पीडित कानुको परिवारलाई आर्थिक सहयोग

Author
The Designers | May 14, 2026
0
Featured

वीरगंज , ३१ बैशाख –

पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ निवासी ५४ वर्षीय क्यान्सर पीडित माया साह कानु को परिवारलाई विभिन्न खाद्यान्नसहित ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी युवा उद्यमी एवं समाजसेवी प्रदीप जैसवाल को समूहले पीडित परिवारलाई उक्त सहयोग गरेको हो । जैसवालसँगै रास्वपा नेता दिलीप पटेल, सोनालाल कुर्मी, मनोज कुर्मी लगायतले पीडितको घर बनकटवा पुगेर खाद्यान्नसहित आर्थिक सहयोग गरेका हुन् ।

सात महिनाअघि माया साह कानुलाई घाँटीमा ग्रन्थी क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार सुरु भएको र हालसम्म १२ वटा केमो चढाइसकिएको परिवारले जनाएको छ । अब १३औँ केमो चढाउन आर्थिक समस्याका कारण कठिनाइ भइरहेको बताइएको छ । एउटा केमो चढाउन करिब ३५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

परिवारका अनुसार हालसम्म विभिन्न ठाउँबाट चन्दा संकलन गरी करिब १३ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको छ । चिकित्सकहरूले अझै ४ वटा केमो चढाएपछि माया साह कानुको आयु करिब १० वर्षसम्म बढ्न सक्ने बताएका छन् ।

यता, श्रीमानको स्वास्थ्य अवस्थाको चिन्ताका कारण माया साह कानुकी श्रीमतीलाई पनि मस्तिष्कघात भएको छ । उनी करिब चार महिनादेखि बिरामी रहेकी छन् र भरतपुरस्थित मेडिकल कलेजमा उपचाररत छन् ।

पारिवारिक स्रोतका अनुसार श्रीमतीको उपचारमा करिब ७ लाख रुपैयाँ खर्च भइसकेको छ भने श्रीमानको उपचारमा अझै लाखौँ रुपैयाँ लाग्ने अवस्था रहेको छ । लगातारको उपचार खर्चका कारण परिवार गम्भीर आर्थिक संकटमा परेको बताइएको छ ।

पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न नागरिक समाज तथा राज्यसँग अपिल गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?