
वीरगंज , ३ जेठ –
नेशनल एकेडेमीले कक्षा १२ र स्नातक तहका विद्यार्थीहरूको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा शनिबार भव्य कार्यक्रमसहित बिदाइ गरिएको हो ।
कार्यक्रम कलेजका अध्यक्ष छोटेलाल प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि लायन्स क्लब अफ वीरगञ्ज ३२५ एसका पूर्व डिस्ट्रिक्ट गभर्नर देवकीनन्दन (डीएन) अग्रवालले विद्यार्थीहरूलाई पाठ्यपुस्तकसँगै व्यवहारिक र सामाजिक गतिविधिमा पनि सक्रिय हुन सुझाव दिए।
उनले प्रमाणपत्र मात्र पर्याप्त नहुने भन्दै सामाजिक सेवामा सहभागी भएर व्यक्तित्व विकास गर्नुपर्नेमा जोड दिनुभयो । कलेजका प्राध्यापक इन्दुशेखर मिश्रले अनुशासन र लगनशीलता पनि विद्यार्थीको महत्वपूर्ण पहिचान हुने बताए ।
कलेज अध्यक्ष छोटेलाल प्रसादले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन नै कलेजको उद्देश्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न प्राध्यापक, सञ्चारकर्मी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत गरेका थिए ।