
वीरगंज , ३ जेठ –
तराईका जिल्लामा सरसफाइप्रति उदासीनता रहेको धारणा गलत सावित गर्दै वीरगञ्जका युवाहरूले काठमाडौंमा सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
अध्ययनका लागि काठमाडौं बसोबास गरिरहेका वीरगञ्ज महानगरपालिका–१ छपकैयाका युवाहरूले राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा शंखमूल क्षेत्रमा सरसफाइ गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाको वडा नं. ११ अन्तर्गत शंखमूल क्षेत्रमा बिहानै सडक तथा सार्वजनिक स्थलमा रहेको फोहर संकलन गरी सरसफाइ गरिएको थियो ।
अभियानमा आदित्य गुप्ता, निरज सहनी, उदय गुप्ता, अनुष्का गुप्ता र सिया गुप्ताको सहभागिता रहेको थियो । उनीहरूले सरसफाइ केवल सरकारको होइन, नागरिकको पनि दायित्व भएको सन्देश दिएको बताएका छन् ।
स्थानीयवासीले युवाहरूको सक्रियताको प्रशंसा गरेका छन् ।