
वीरगंज, २ जेठ । वीरगंजको नारायणी अस्पताल प्राङ्गणमा विगत दुर्ई वर्षदेखि प्रत्येक शनिवार सञ्चालन हुँदै आएको निश्शुल्क भोजन शिविर तेस्रो वर्षमा पनि निरन्तर रूपमा अगाडि बढेको छ । वीरगंज समाज सेवाको आयोजनामा हुँदै आएको यस अभियान अन्तर्गत आज तेस्रो वर्षको दोस्रो महिना (जेठ) को पहिलो हप्ताको कार्यक्रम पनि सभ्य एवं भव्य रूपमा सम्पन्न भएको हो ।
प्रत्येक शनिवार बिहान ९ः३० बजेदेखि नियमित रूपमा सञ्चालन हुने यस निश्शुल्क भोजन कार्यक्रमबाट अस्पतालमा उपचाररत बिरामी, तिनका कुरूवा, असहायहरूका साथै रिक्सा तथा ई–रिक्सा चालक, यात्री र बटुवाहरू लाभान्वित हुँदै आएका छन् । उनीहरूलाई घरमै तयार पारिएको जस्तो सफा, शुद्ध, गुणस्तरीय एवं पोषिलो भोजन खुवाउने गरिएको छ ।
शनिवार आयोजित भोजन शिविरमा वृद्धवृद्धा, महिला तथा बालबालिकाहरूलाई बोलाइ–बोलाइ, थपी–थपी भोजन गराइएको थियो । आजको भोजनमा शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, काउली–आलुको मिक्स तरकारी, भुटेको हरियो खुर्सानीको अचार र हरियो काँक्रो समावेश थियो, जुन समाजका सेवकहरूले आफैं अग्रसर भएर पस्किएका थिए ।
वीरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत दुर्ई वर्षदेखि प्रत्येक शनिवार करिब ४ सय ५० देखि ५ सय जनालाई निश्शुल्क भोजन गराउँदै आएको जानकारी दिए।
दीन–दुःखी र असहायको पेट भर्न पाउँदा र त्यसपछि उनीहरूको अनुहारमा छाउने खुसी देख्दा हामीलाई असाध्यै गर्व लाग्छ, अध्यक्ष गुप्ताले भने, तपाईंहरू पनि जहाँ हुनुहुन्छ, त्यहींबाट आपसी हातेमालो गर्दै दिन–दुःखीको सेवामा लाग्नुहोस् ।
उनले यस अभियानलाई लगातार तेस्रो वर्षमा प्रवेश गराउन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी, सदस्य तथा सहयोगी हातहरूप्रति हार्दिक आभार समेत व्यक्त गरे ।
संस्थाका सचिव प्रकाश बाहेतीले कोही भोकै नरहोस भन्ने उद्देश्यका साथ दुर्ई वर्षअगाडि माइस्थान मन्दिर प्राङ्गणबाट केही साथीहरू मिलेर यो अभियान शुरू गरेको स्मरण गरे । अभियानको तेस्रो हप्तादेखि नै अधिकांश विपन्न र असहायहरूको उपचार स्थल मानिने नारायणी अस्पताललाई केन्द्र बनाएर निरन्तर सेवा दिँदा आत्मसन्तुष्टि मिल्ने गरेको उनले बताए ।
सचिव बाहेतीले आजको निश्शुल्क भोजन कार्यक्रमका लागि चामल लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुका साथै प्रत्यक्ष रूपमा सेवामा खटिने श्री सत्य साई सेवा संगठन वीरगंज परिवारलाई विशेष धन्यवाद र आभार प्रकट गरे ।
वीरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्री सत्य साई सेवा संगठन वीरगंजका पदाधिकारी एवं सेवकहरू, सामाजिक अभियन्ता लालबाबु सिंह, संस्थाका सचिव प्रकाश बाहेती, निशान्त लाठ, कल्पना किङरिङ, मुकेश अग्रवाल, रामबाबु गुप्ता, बजरंग अग्रवाल, शंकर राई, सांचे मगर र आकाश पटेल लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले प्रत्यक्ष रूपमा श्रमदान गर्दै भोजन गराउने कार्यमा सहयोग पुर्याएका थिए ।