Menu

आजको मौसम

मधेस सरकारबारे जसपामै मतभेद, मुख्यमन्त्री यादवको विश्वासको मत अनिश्चित

Author
The Designers | May 16, 2026
0
Featured

वीरगंज, २ जेठ –

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गते विश्वासको मत लिने तयारी गरे पनि निर्णायक शक्ति रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रै मत विभाजन देखिएको छ । पार्टीभित्र समर्थन गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसक्दा राजनीतिक अन्योल बढेको हो ।

शुक्रबार बसेको जसपा नेपालको मधेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन । त्यसपछि विश्वासको मत लिने मिति समेत हेरफेर गर्नुपर्ने अवस्था बनेको स्रोतले जनाएको छ ।

जसपा नेपालका २६ सांसदमध्ये अधिकांशले तत्काल सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन् । केही सांसदले सरकारमा जाने अवस्था आए पार्टीकै नेतृत्वमा जानुपर्ने अडान राखेका छन् ।

बैठकमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, मनिष सुमन, राजु गुप्ता र रानी शर्मा तिवारीलगायत नेताहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा धारणा राखेका थिए । मनिष सुमन, रानी शर्मा तिवारी र राजु गुप्ता अहिले कृष्ण यादव नेतृत्वकै सरकारमा सहभागी छन् । उनीहरूले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सरकार परिवर्तन उचित नहुने बताएका छन् ।

पूर्वमुख्यमन्त्री राउतले हालसम्मको अवस्था हेर्दा मुख्यमन्त्री यादवलाई समर्थन गर्ने सहमति बनेको बताए । तर, उनले ८ गतेसम्म राजनीतिक परिस्थिति फेरिन सक्ने संकेत पनि गरेका छन् ।

यता पार्टीभित्रै अर्को समूह भने सरकारको कार्यसम्पादनप्रति असन्तुष्ट देखिएको छ । पूर्वमुख्यमन्त्री सरोज यादवले वर्तमान सरकारले लक्ष्यअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नीति तथा कार्यक्रममै उल्लेख भएका योजनासमेत कार्यान्वयन हुन नसकेको बताएका छन् ।

प्रदेशसभा सदस्य जैनुल राइनले भने अन्तिम निर्णय केन्द्रको निर्देशनअनुसार हुने स्पष्ट पारेका छन् । उनका अनुसार प्रदेश संसदीय दलभन्दा पनि पार्टी केन्द्रको निर्णय निर्णायक बन्नेछ ।

यसैबीच जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता भइसकेको र निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा मधेस प्रदेशमा संसदीय दलको नेता बन्न नेताहरूबीच तीव्र दौडधुप सुरु भएको छ । प्रदेशस्तरमा सहमति नभए केन्द्रले नै नेता तोक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?