वीरगंज , ३१ बैशाख –
वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय माथि कालोमोसो दलिएको घटनामा संलग्नमाथि कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार बिहान क्याम्पस परिसरमै पाँच–छ जनाको समूहले रायमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो । घटनापछि पुगेको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले संलग्न रहेको आरोपमा क्याम्पसकै दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले जानकारी दिए। उनका अनुसार घटनामा संलग्नमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ ।
सामुदायिक क्याम्पस हरिखेतानलाई निजीकरण गर्न खोजिएको आरोपसहित क्याम्पस प्रशासन र शिक्षकबीच विगत एक वर्षदेखि विवाद चल्दै आएको छ । पछिल्लो समय क्याम्पस प्रशासनले करारमा कार्यरत शिक्षकहरू लालकिशोर प्रसाद पटेल, रविन्द्र कुमार यादव, पूजा गुप्ता र दिलीप कुमार पण्डित को सेवा अन्त्य गर्ने निर्णय गरेपछि विवाद चर्किएको थियो ।
निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी र धर्ना दिँदै आएका थिए । यही विवादका बीच क्याम्पस प्रमुख रायमाथि कालोमोसो दलिएको हो ।
घटनाको नागरिक समाजले समेत विरोध गर्दै लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि दुर्व्यवहार अस्वीकार्य भएको टिप्पणी गरेको छ ।