
वीरगंज , १ जेठ —
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल बजेटको झन्डै ६० प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा ११ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भएको हो ।
सरकारले चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये हालसम्म ५९ दशमलव ७५ प्रतिशत खर्च भएको देखिएको छ ।
चालूतर्फको खर्च तुलनात्मक रूपमा उच्च रहे पनि पूँजीगत खर्च भने कमजोर देखिएको छ । चालूतर्फ विनियोजित बजेटको झन्डै ६९ प्रतिशत खर्च हुँदा विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च केवल २७ दशमलव ९१ प्रतिशतमा सीमित भएको छ ।
वित्तीय व्यवस्थातर्फ भने ६५ प्रतिशतभन्दा बढी खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यता सरकारको आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । वैशाख मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको ६६ प्रतिशत मात्रै आम्दानी गरेको छ । राजस्व सङ्कलन पनि लक्ष्यभन्दा कम रहेको छ ।
सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि हालसम्म झन्डै ९ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै असुली भएको छ ।
वैदेशिक अनुदानतर्फको अवस्था अझ कमजोर देखिएको छ । सरकारले लक्ष्यको करिब ३३ प्रतिशत मात्रै वैदेशिक अनुदान प्राप्त गरेको छ ।