
पर्सा , २ जेठ –
वीरगंजमा बजार अनुगमन टोलीले शुक्रबार अस्पतालभित्र सञ्चालित क्यान्टिन र होटलहरूलाई जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा खटिएको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिका–१३ स्थित तराई हस्पिटल परिसरभित्र सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
अनुगमनका क्रममा क्यान्टिन दर्ताविनै सञ्चालन गरिएको, सरसफाइ कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
त्यसैगरी ज्योती मगर होटललाई २० हजार रुपैयाँ र उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । बुद्ध होटललाई भने थप विवरणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा वाणिज्य, खाद्य प्रविधि, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघ तथा प्रहरीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।