
वीरगंज , ३ जेठ –
भारत–नेपाल सीमा सुरक्षा अन्तर्गत खटिएको सशस्त्र सीमा बल (एसएसबी) को ४७औँ वाहिनीले रक्सौल–वीरगंज मैत्री पुलबाट एक चिनियाँ नागरिकलाई अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको छ ।
शुक्रबार नियमित जाँचका क्रममा बिना वैध भारतीय भिसा बिहारतर्फ प्रवेश गर्न खोजिरहेका उनलाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रारम्भिक सोधपुछमा उनले आफू खिलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका छन् ।
उनको साथबाट स्पाइडरम्यान लगायतका युद्धजन्य स्वरूपका खेलौना सामग्री समेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्ति चीनका ५७ वर्षीय याओ शुजाङ भएको र उनको पासपोर्ट पनि फेला परेको बताइएको छ ।
सुरक्षा निकायका अनुसार उनी काठमाण्डौ हुँदै नेपाल प्रवेश गरी चितवनमा व्यापारिक गतिविधिमा संलग्न भएको र पछि वीरगञ्ज हुँदै भारत प्रवेश गर्न खोजेको देखिएको छ ।
हाल उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाउने प्रक्रिया भइरहेको छ भने उनको उद्देश्य, सम्पर्क र गतिविधिबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।